कान्ति लोकपथ अवरुद्ध, यात्रुहरू अलपत्र
काठमाडौं - हेटौँडा–काठमाडौंँ जोड्ने कान्ति लोकपथ सडक खण्ड अवरुद्ध भएको छ। सोमबार राति परेको अविरल वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमानामा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको अस्थायी डाइभर्सन बाढीले बगाउँदा उक्त सडक खण्डमा गए रातिदेखि नै सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
डाइभर्सनको ह्युमपाइप बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। अस्थायी डाइभर्सन मर्मत गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले बताए।
वर्षा अझै जारी रहेकाले डाइभर्सन पुनः निर्माणमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। अवरोधका कारण यात्रुहरू बीचमै अलपत्र परेका छन् भने सवारी साधन जाममा परेका छन्। मकवानपुर जिल्ला प्रशासन कार्यालयले यात्रुहरूलाई हेटौँडा–काठमाडौंँ सडक खण्ड प्रयोग नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ।









