बागमती प्रदेशसभाको बैठक आज बस्दै, विशेष कार्यसूची तय
काठमाडौं - बागमती प्रदेशसभाको सोह्रौं अधिवेशनको पहिलो बैठक आज, सोमबार बिहान ११ बजे हेटौँडामा बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार, बैठकको पहिलो दिन विशेष समयको कार्यसूची तय गरिएको छ। बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम तय गरिएको छ। त्यसपछि, आन्तरिक मामिला तथा कानुनमन्त्रीले चलचित्रसम्बन्धी विधेयक पेस गर्ने र संसदीय समितिबाट पारित भएका चार विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिएका छन्।
तर, विपक्षी दलहरूले सरकारले आफ्ना मागका सन्दर्भमा स्पष्ट जवाफ नदिएको भन्दै बैठक सञ्चालनमा असहमतिका संकेत गरेका छन्। सर्वदलीय बैठकमा सहमति जुट्न नसक्दा संसद् सञ्चालनमा कठिनाइ आएको माओवादी केन्द्रका प्रमुख सचेतक रत्न प्रसाद ढकालले बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उद्धव थापाले पनि सरकारको एकलौटी कदमका कारण बैठक सञ्चालनमा समस्या आएको बताएका छन्। उनका अनुसार, सरकारले विगतका सहमतिहरू कार्यान्वयन नगरेको र विपक्षी दलका माग सम्बोधन नगरेको आरोप लगाएका छन्।
यसैबीच, मुख्यमन्त्री बहादुर सिँह लामाले विपक्षी दलसँग संवाद जारी राखेका छन्। औपचारिक बैठकमा सहमति जुट्न नसकेपछि उनले छुट्टाछुट्टै दलका नेता र प्रतिनिधिहरूसँग भेटेर संवाद थालेका छन्।









