रसुवाबाट साढे सात किलो सुन बरामद, तस्करीको नयाँ मार्ग खुलासा
काठमाडौं - रसुवाको गोसाइकुण्ड गाउँपालिका–१ बाट साढे सात किलो सुन बरामद भएको छ। केरुङबाट काठमाडौं आउँदै गरेको स्याउ बोकेको गाडीमा लुकाएर ल्याइएको उक्त सुन प्रहरीले बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी खेमबहादुर शाहीका अनुसार, गाडीका चालक २४ वर्षीय किशोर भुजेललाई पनि पक्राउ गरिएको छ। उनी पनि रसुवाका निवासी हुन्। प्रारम्भिक अनुसन्धानमा सुन तस्करीको उद्देश्यले ल्याइएको पुष्टि भएको छ।
पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीमा कडा निगरानी बढाएपछि तस्करहरूले उत्तरी नाका, विशेष गरी रसुवागढी नाकालाई नयाँ मार्गको रूपमा प्रयोग गर्न थालेका छन्।









