प्रधानमन्त्रीका सल्लाहकार रिमालको टिप्पणी: 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाइँदैछ
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई इमान्दार र सक्षम व्यक्तिका रूपमा प्रशंसा गर्दै, सामाजिक सञ्जालमा 'बिजुली गयो' भन्ने न्यारेटिभ बनाउने गिरोह सक्रिय रहेको बताएका छन्।
आइतबार फेसबुकमा लेख्दै रिमालले भनेका छन्, “बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन्।”
रिमालले थपे, “समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ। अहिले समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा रहेका छन्।”









