प्रेमाको हत्या: सुर्खेतका जक्सन खत्री पक्राउ
काठमाडौँ - सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु स्थित जंगलमा मृत भेटिएकी २६ वर्षीया प्रेमा वलीको हत्या उनका श्रीमान् जक्सन खत्रीले गरेको खुलेको छ। प्रेमाको शव आइतबार झिगेनारा खोलामा फेला परेको थियो। प्रेमाको मोबाइलमा अर्कै पुरुषको तस्वीर देखेपछि जक्सनले उनलाई हत्या गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।
जक्सन खत्री नेपाली सेनाको वीरदल गण पाँचथरमा कार्यरत थिए। उनले श्रीमतीलाई सामान लिन बोलाएर हत्या गर्ने उद्देश्यले छिन्चु आएका थिए। शनिबार साँझ प्रेमासँग भेटघाटपछि दुवैबीच विवाद भएको थियो। प्रेमाले श्रीमान् जक्सनलाई अर्कै केटीसँग सम्बन्ध रहेको भन्दै आरोप लगाएकी थिइन्। यसै विवादका कारण जक्सनले प्रेमाको टाउकोमा ढुङ्गाले हानी हत्या गरेका थिए।
हत्या पछि जक्सनले प्रेमाको शवलाई सलले बेरेर खोलामा फालेका थिए। घटनास्थलमा कुकुरसहितको टोलीले अनुसन्धान गरेको थियो। प्रेमाको माइती गुर्भाकोट नगरपालिका–५ तोरीबारी हो। उनका ६ वर्षीया छोरीसहित उनी थक्लेनीमा एक्लै बस्दै आएकी थिइन्।









