राज्य व्यवस्था समितिले निजामती विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
काठमाडौँ - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकलाई आगामी बैठकबाट संसदमा पेस गर्ने तयारी गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा सभापति रामहरि खतिवडाले विधेयकलाई संसदमा पेस गर्नका लागि सरकारलाई आवश्यक तयारी गर्न आग्रह गरेका छन्। उनले समितिमा सदस्य र जनताको धारणा बुझेर विधेयकलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
सभापति खतिवडाले भने, “कानुन निर्माण गर्दा पुरानालाई समय थप्दै जाने र नयाँलाई बाटो बन्द गर्ने प्रवृत्तिले जनमानसमा नराम्रो प्रभाव पार्ने भएकाले विधेयकलाई समयमै अघि बढाउनुपर्छ।” उनले अख्तियारको विधेयकमा पनि सरकारले स्पष्ट धारणा बनाउनुपर्ने र छिटो विधेयक टुंग्याउनुपर्नेमा जोड दिएका छन्।









