कर्णाली नदीमा डुबेर बेपत्ता भएका दुई किशोरको खोजी जारी
काठमाडौँ - शुक्रबार कर्णाली नदीमा डुबेर बेपत्ता भएका दुई किशोर अझै फेला परेका छैनन्। स्थानीय, प्रहरी र गोताखोरको टोलीले खोजी कार्य जारी राखेका छन्, तर अहिलेसम्म कुनै पत्तो लागेको छैन।
बेपत्ता हुनेमा कालिकोटको नरहरीनाथ गाउँपालिका-१, कोटबाडाका १६ वर्षीय विराज विष्ट र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-९, डौँसुरका १६ वर्षीय भुवन सावन रहेका छन्। भुवन शुक्रबार बिहान १०:३० बजेतिर लामादुवालास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। विराज दिउँसो पचालझराना गाउँपालिका-४, को को चाँटेबगर स्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार स्थानीय र प्रहरीले खोजीकार्य जारी राखेका छन्। ‘ठाउँ–ठाउँमा पुगेर खोजी कार्य भइरहेको छ, अहिलेसम्म कुनै पत्तो लागेको छैन्,’ उनले भने।
कालिकोटको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार गोताखोर, सशस्त्र प्रहरी, प्रहरी टोली र स्थानीय मिलेर खोजी कार्य भइरहेको छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन।









