image
image
नेपाली राजनीति अस्थिरताप्रति सांसद मीना यादवको चिन्ता: दाइजो प्रथासम्मका गम्भीर टिप्पणी

नेपाली राजनीति अस्थिरताप्रति सांसद मीना यादवको चिन्ता: दाइजो प्रथासम्मका गम्भीर टिप्पणी

काठमाडौँ -   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की प्रतिनिधिसभा सदस्य मीना यादवले अस्थिर सरकारका कारण देशको समग्र विकासमा अवरोध आएको बताएकी छन्। उनले भनिन्, “जुन पार्टीको नेतृत्वमा सरकार बने पनि बढीमा एक वर्ष वा दुई वर्ष मात्रै चलेको छ, खाली सरकार बनाउने र ढाल्ने खेल मात्रै भइरहेको छ, जनचासोका विषयमा कसैलाई मतलब छैन।”

सांसद यादवका अनुसार, नौ महिनामा सरकार परिवर्तन भइरहने भएकाले मन्त्रीले आफ्नो मन्त्रालयको बारेमा बुझ्न नपाउँदै सरकार परिवर्तन भइहाल्छ। उनले थपिन्, “कम्तीमा चार पाँच वर्षसम्म सरकारले काम गर्न पाए देशको विकास हुन्छ।”

उनले मधेसमा व्याप्त दाइजो प्रथाबारे पनि गम्भीर चिन्ता व्यक्त गरिन्। यादवका अनुसार, मधेसमा छोरी माग्ने बेलामै दाइजोको माग राखिन्छ। उनले भनिन्, “यदि आफूले भने जति दाइजो नपाएमा श्रीमतीलाई जिउँदै जलाइदिने घटना पनि भएका छन्। मानौँ, कोही मधेसी केटाले डाक्टर पढेको छ भने उसले डाक्टर पढ्दा लागेको खर्च बराबरको दाइजो माग्ने चलन छ।”

यसैगरी, उनले मधेसमा अशिक्षा र चेतनाको कमीले गर्दा दाइजो प्रथा अझै बढ्दै गएको बताइन्। “मधेसी हुनुको विभेद एकातिर छ, महिला हुनुको विभेद अर्कोतिर छ,” उनले भनिन्। साथै, उनले बेरोजगारी र विदेश पलायनको समस्याबारे पनि चिन्ता व्यक्त गरिन्।

सांसद यादवले संविधानको धारा ३८ अनुसार राज्यका हरेक निकायमा महिलालाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको बताइन्। उनले भनिन्, “संविधानको प्रस्तावनामा पछाडि परेको समुदायलाई समान सहभागिता हुने भनेको छ, तर कार्यान्वयन नभएपछि के गर्ने?”

उनले सरकारलाई जनतालाई सरकार भएको आभास दिनुपर्ने र स्थानीय र प्रदेश सरकारले पनि सही ढङ्गले जनतालाई सेवा दिन सकेका छैनन् भन्नेमा जोड दिइन्। “संघीय सरकारले प्रदेश सरकारलाई काम गर्ने अधिकार नै दिएको छैन,” उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।