दार्चुला–टिङ्कर सडक निर्माणमा नेपाली सेनाको द्रुत प्रगति
काठमाडौँ - महाकाली कोरिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको छ। यसअघि व्यास गाउँपालिका–३ तुसारपानी हुँदै दुम्लिङ, कल्जु, आतुङती, तम्बाकु क्षेत्रमा मात्र काम भइरहेको थियो।
सेनाले व्यास गाउँपालिका–१ छाङ्गरु गागाबाट सडक खन्न थालेको छ। यस वर्ष तल्लो क्षेत्रमा तम्बाकु क्षेत्र जोड्ने गरी २०० मिटर ट्रयाक खोल्ने काम भइरहेको सैनिक प्रवक्ताले जानकारी दिए।
सेनाले हालसम्म १५ दशमलव दुई किलोमिटर ट्रयाक खोलेको छ। यस वर्ष रु ९ करोड बजेट प्राप्त भए पनि बजेट अभावका कारण द्रुत गतिमा काम हुन सकेको छैन। सरकारले थप रु पाँच करोड बजेट उपलब्ध गराएको छ।
नेपाली सेनाले कडा चट्टानी भाग रहेको तुसारपानी नजिक फतङगाडमा २०० मिटर ट्रयाक खोलेको छ। व्यास गाउँपालिका–२ आतुङ्ती क्षेत्रमा ५०० मिटर र तम्बाकु क्षेत्रमा ५०० मिटरभन्दा बढी नयाँ ट्रयाक निर्माण गरिएको छ।
यसैबीच, पूर्वमन्त्री गणेशसिंह ठगुन्ना नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तुसारपानी–टिङ्कर सडकका निम्ति कम्तीमा रु ५० करोड बजेट विनियोजन हुनुपर्ने माग गरेको छ। भारतले लिपुलेक–कालापानी सडकलाई दुई लेन बनाइरहेका बेला हाम्रातर्फ ट्रयाक खुलाउन बजेटको सुनिश्चिता हुनुपर्नेमा जोड दिइएको नेता ठगुन्नाले बताए।