सुन्दरबजार नगरपालिकामा बसाइँ सराइको दरमा वृद्धि
काठमाडौँ - लमजुङको सुन्दरबजार नगरपालिकामा बसाइँ सराइको दरमा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ७२ परिवारका १९८ जना यहाँबाट अन्यत्र बसाइँ सरेका छन्। यसअघि गत आर्थिक वर्षमा २८ परिवारका ९३ जना बसाइँ सरेका थिए।
नगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका अनुसार, नगरभित्र पनि अन्यत्रबाट बसाइँ सर्नेहरूको संख्या बढेको छ। गत आर्थिक वर्षमा १३ परिवारका २७ जना नगरमा बसाइँ सरेका थिए भने चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३९ परिवारका १२० जना नगरमा बसाइँ सरेका छन्।
बसाइँ सराइको मुख्य कारण शिक्षा, स्वास्थ्य, रोजगारी र लगानीको खोजी रहेको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विवेककुमार पण्डितले बताएका छन्। नगरप्रमुख कृष्णप्रसाद कोइरालाले सुन्दरबजारबाट बाहिरिनेको संख्या भित्रिनेभन्दा बढी हुनु नगरका लागि चिन्ताको विषय बनेको बताए। पालिकाले रोजगारी तथा सेवा प्रवाह सहज हुने कार्यक्रम लागू गरिरहेको उल्लेख गर्दै उनले बसाइँ सराइको कारण पहिचान गरी समाधानको उपाय अवलम्बन गर्दै अगाडि बढिरहेको बताए।
बसाइँ सराइको प्रवृत्ति विशेष गरी बजार क्षेत्रबाट ग्रामीण क्षेत्रतर्फ बढेको देखिन्छ। यसका कारण स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्नु, प्राविधिक शिक्षालय सञ्चालन र लगानीको वातावरण बनाउनेतर्फ पालिकाको प्राथमिकता हुनुपर्ने आवश्यकता रहेको छ।