चिकित्सकहरूको आन्दोलन जारी, पारिश्रमिक र कार्यस्थल सुधारका माग
काठमाडौँ - चिकित्सकहरूको हकहितका लागि संघर्षरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति'ले विगत ३५ दिनदेखि आन्दोलन जारी राखेको छ। समितिका अनुसार, केही मेडिकल कलेजहरूले तीन महिनादेखिको पारिश्रमिक नदिएको र आवासीय चिकित्सकहरूलाई धम्की दिइरहेको भन्दै आन्दोलन जारी राखिएको जनाएको छ।
चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेको निर्णयबमोजिमको पारिश्रमिक भुक्तानी, आवासीय चिकित्सकहरूलाई निःशर्त ड्युटीमा फर्कने वातावरण र आन्दोलनमा सहभागी भएकै कारण कुनै शैक्षिक वा अन्य समस्या नपर्ने सुनिश्चितता नभएसम्म विरोधका कार्यक्रम जारी रहने बताए।
समितिले आवासीय चिकित्सकहरूले पारिश्रमिक भुक्तानी नहुँदासम्म आफूले प्रदान गर्दै आएको सेवाहरू बहिष्कार गर्ने जनाएका छन्। त्यस्तै उपत्यकाभित्र माइतीघर मण्डलामा सेतो एप्रोनसहित धर्ना दिने कार्यक्रम समेत यथावत् नै राखेका छन्।









