प्रहरी स्टाफ कलेजको औपचारिक सुरुवात: गृहमन्त्री रमेश लेखकद्वारा उद्घाटन
काठमाडौँ - भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित एक समारोहमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी स्टाफ कलेजको औपचारिक उद्घाटन गरे। यस अवसरमा उनले प्रहरीमा असल नेतृत्व निर्माण र संगठनलाई सक्षम बनाउने उद्देश्यले स्टाफ कलेजको स्थापना गरिएको बताए।
गृहमन्त्री लेखकले भने, “आज नेपाल प्रहरीका लागि महत्त्वपूर्ण र ऐतिहासिक दिन हो। राष्ट्रको सेवामा समर्पित प्रहरीले गर्दै आएको कामकुरामा एउटा थप राम्रो कामको कुरामा यसलाई लिएको छु।” उनले स्टाफ कलेजको कारण प्रहरीमा सकारात्मक परिवर्तन आउने आशा व्यक्त गर्दै भने, “यो कोर्स लागू भएपछि सकारात्मक परिवर्तन आउनेमा आशावादी छु। यो आजको भोलि नै हुने कुरा होइन, पाँच–दश वर्ष कुर्नुपर्ने हुनसक्छ।”
नेपाल प्रहरी स्टाफ कलेजको पाठ्यक्रममा प्रहरी कार्य सञ्चालन तथा प्रशासन, सार्वजनिक मामिला प्रशासन, अपराध अनुसन्धान तथा सुरक्षा अध्ययन, रूपान्तरणकारी नेतृत्व व्यवस्थापन, सुरक्षा अध्ययनका विविध आयामहरू, फरेन्सिक विज्ञान तथा फरेन्सिक चिकित्सा, विपद् तथा द्वन्द्व व्यवस्थापन लगायतका विषयहरू समावेश छन् ।
२०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएका ब्याचबाट यो कोर्स लागू गरिएको प्रहरीले जनाएको छ। २०७० को ब्याचबाट १७ जना परीक्षामा उत्तीर्ण भएका थिए र उनीहरूले पहिलो ब्याचको रूपमा कोर्स गर्नेछन्। २०७० भन्दा पछि प्रहरीमा भर्ना भएका अधिकृतहरूले यो कोर्स पुरा नगरी एसएसपी भन्दा माथि जान सक्ने छैनन्।









