नागढुंगा–नौबिसे सडक १० दिनका लागि राति बन्द
काठमाडौँ - सङ्घीय राजधानी काठमाडौँ र आसपासका क्षेत्रका लागि महत्वपूर्ण मार्ग मानिने त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडक आगामी वैशाख २२ देखि ३१ गतेसम्म राति ११:०० बजेदेखि बिहान ३:०० बजेसम्म १० दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा जारी सूचनामा उक्त सडकखण्डको पिप्लामोड क्षेत्रको निर्माण कार्यलाई तीव्रता दिन र सम्भावित जोखिमबाट बच्नका लागि रातको समयमा सवारी आवागमन बन्द गर्न लागिएको उल्लेख छ।
यस अवधिमा काठमाडौँबाट नौबिसे जाने हलुका र भारी सवारीसाधनलाई नागढुंगा चेकपोष्टमा र नौबिसेबाट काठमाडौँ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिनेछ। सवारीसाधनलाई वैकल्पिक मार्गको रूपमा सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के र सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
यस समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई आवागमनमा कुनै रोकावट नहुने व्यवस्था मिलाइएको छ। सवारी चालकलाई ओभरट्याक नगरी नियम पालना गर्न अनुरोध गरिएको छ।
नागढुंगा–नौबिसे सडकखण्डको स्तरोन्नति कार्यलाई तीव्रता दिन र यातायातको सुरक्षामा ध्यान दिनका लागि यो अस्थायी बन्द व्यवस्था गरिएको हो।









