image
image
राष्ट्रिय युवा परिषद्ले यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ

राष्ट्रिय युवा परिषद्ले यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ

काठमाडौँ -  राष्ट्रिय युवा परिषद्ले आगामी दशकको लागि नयाँ युवा विकास रणनीति "यूथ भिजन-२०३५" निर्माणका लागि सरोकारवालासँग छलफल प्रारम्भ गरेको छ। सन् २०१५ मा जारी गरिएको यूथ भिजन-२०२५ को समयावधि सकिन लागेकाले परिषद्ले नयाँ भिजन निर्माणमा जुटेको हो।

शनिबार उपत्यकामा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यूथ भिजन-२०२५ को समीक्षा गरी सबै सरोकारवालासँगको छलफलपछि नयाँ यूथ भिजन जारी गरिने बताए। मन्त्री चौधरीले नेपाली युवाका नयाँ आवश्यकता र चाहना समेटेर यूथ भिजन तयार गरिने बताए।

पहिलो चरणमा उपत्यकाका भर्खरै निर्वाचित स्ववियु अध्यक्ष लगायतका पदाधिकारीहरूको सहभागितामा भएको नीतिगत छलफलमा यूथ भिजन-२०३५ निर्माण कार्यदलका संयोजक योगेन्द्र शाहीले 'यूथ भिजन-२०३५ मा युवाका सरोकार' शीर्षकमा कार्यपत्र पेस गरेका थिए। कार्यपत्रमा शाहीले युवाको सर्वाङ्गीण विकास गरी देशको सामाजिक आर्थिक रूपान्तरण मार्फत समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सघाउ पुर्‍याउने लक्ष्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय युवा परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका एमाले युवा नेता माधवप्रसाद ढुङ्गेलले यूथ भिजन-२०२५ को विहङ्गम समीक्षा गरेर मात्र नयाँ तर्फ अघि बढ्नुपर्ने सुझाव दिए। ढुङ्गेलले नेपाल सरकारका विभिन्न मन्त्रालयमा रहेका युवा लक्षित कार्यक्रमलाई समन्वय गरेर अघि बढाउनुपर्ने बताए।

नेपाली काङ्ग्रेसका युवा नेता नैनसिंह महरले अबको यूथ भिजनले नेपाली युवाका आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए। महरले शिक्षालाई श्रम, सिप र प्रविधिसँग जोड्नुपर्ने बताए।

माओवादी केन्द्रका युवा नेता रमेश मल्लले युवा पलायन रोक्नका लागि उद्यमशीलता र स्वरोजगारमा जोड दिनुपर्ने बताए। मल्लले युवाहरूले मुलुक भित्रै भविष्य देख्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि लम्सालले सबै सरोकारवालासँगको वृहत् छलफल र अन्तरक्रियापछि समयसापेक्ष यूथ भिजन जारी गरिने बताए।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले दिगो विकास लक्ष्य पुरा गर्न युवा सशक्तीकरणमा जोड दिए। बस्नेतले यूथ भिजन-२०३५ निर्माणको छलफल प्रारम्भ गरिएको जानकारी दिँदै सबै क्षेत्रका युवाहरूसँग फरक फरक छलफल र अन्तरक्रिया गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा मन्त्रालयका सहसचिव सुवासचन्द्र सिवाकोटी, परिषद सदस्यद्वय विनोद शाही र टिका कंडेल, त्रिभुवन विश्वविद्यालयका स्ववियु अध्यक्ष दिपकराज जोशी, नेपाल ल क्याम्पसका स्ववियु अध्यक्ष समिर रिजाल, पुल्चोक क्याम्पसका स्ववियु अध्यक्ष स्वयम् श्रेष्ठ, सानोठिमी क्याम्पसका स्ववियु अध्यक्ष नरेन्द्र ठगुन्ना लगायतका स्ववियु पदाधिकारीहरूले युवामैत्री यूथ भिजनमा निर्माणमा आआफ्ना सुझाव र धारणा राखेका थिए।

राष्ट्रिय युवा परिषद्ले आगामी दिनमा जिल्लास्तरदेखि राष्ट्रियस्तरसम्मका युवासँग छलफल र अन्तरक्रिया गर्दै यूथ भिजन-२०३५ निर्माण प्रक्रिया अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।