डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु
काठमाडौँ - डोल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको सुनछहरी गाउँपालिका–३ की ३२ वर्षीया पार्वती घर्ती मगर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का १८ वर्षीय किरण भण्डारी रहेका छन्।
उनीहरू ठुलोभेरी नगरपालिका–४ स्थित तिप्ला तातोपानी जोड्ने बाटोमा काम गर्दै थिए। पानीको पाइपको काममा संलग्न उनीहरू सामान ल्याउन जाँदा भीरबाट ५०० मिटर तल खसेका थिए। प्रहरीका अनुसार, पहिला पार्वती घर्ती मगर चिप्लिएर लडेकी थिइन् र उनलाई बचाउन भन्दै किरण भण्डारी पनि पछ्याउँदा उनी पनि लडेका थिए।
घटनामा दुवै जनाको मृत्यु भएको पुष्टि भएको छ र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनै पठाइएको छ।









