धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माणाधीन
काठमाडौँ - धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलहरूको निर्माण कार्य हालै प्रारम्भ भएको छ। धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार गोदावरी नगरपालिका–८ स्थित जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ स्थित सुकुटी खोलामा यी पुलहरूको निर्माण थालिएको हो।
पुलहरूको निर्माणका लागि रु ३.१५ करोडमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। जोनापुर खोलाको पुल ५० प्रतिशत पूरा भइसकेको छ, जबकि सुकुटी खोलामा पिलर निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।
यस सडक खण्डमा हालसम्म १३ किलोमिटर सडक कालोपत्र गरिएको छ। विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ट्रयाक खोलिएको थियो। पहिलो चरणमा खुटिया देखि दिपायलसम्म ८२ किलोमिटर र स्याउले–धनगढी १० किलोमिटर सडकको सर्भे गरिएको थियो।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ द्रुतमार्ग छोटो दूरी र अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको सडक हो। तर, सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा यसका निर्माण कार्यमा विलम्ब भएको छ।









