नवराज विकसहित ६ जनाको हत्या प्रकरण : २६ थान रिटमाथि सुनुवाइ हुँदै
काठमाडौँ - नवराज विक हत्या प्रकरणमा उच्च अदालत सुर्खेतमा २६ वटा पुनरावेदन निवेदनमाथि सुनुवाइ भइरहेको छ। यो प्रकरण २०७७ सालको जेठ महिनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा भएको सामूहिक हत्यासँग सम्बन्धित छ।
रुकुम पश्चिम जिल्ला अदालतले २०८० सालको मङ्सिर महिनामा जातीय विभेदका कारण विकसहित ६ जनालाई कुटपिट गरी मारेको ठहर गर्दै वडाअध्यक्ष दम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। त्यसैगरी, दुई जनालाई दुई वर्ष कैद र ५० हजार रुपैयाँको जरिवाना गरिएको थियो। ८ जनालाई भने सफाइ दिइएको थियो।
जाजरकोटको भेरी नगरपालिका ४ सानागाउँका २१ वर्षीय नवराज विकसहितका साथीहरु प्रेमिकालाई लिन जाँदा गाउँलेले घरेलु हतियारसहित घेरा हाली ती युवालाई कुटपिट गरेका थिए । आक्रमणपछि नवराज विक र उनका साथीहरु सन्जु विक, गणेश विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम सुनारको मृत्यु भएको थियो । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।
न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा पुनरावेदन निवेदनमाथि सुनुवाइ सुरु भएको छ। नवराज विकका बुवा मुनलाल नेपालीले पनि दुई थान पुनरावेदन निवेदन दायर गरेका छन्।
यस प्रकरणमा जातीय विभेदका कारण ६ जनाको हत्या भएको ठहर गरिएको छ।









