परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त : आतंकवादी हमला
काठमाडौँ - नेपालका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी हमलामा ज्यान गुमाएका नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्समार्फत् उक्त हमलामा निर्दोष व्यक्तिहरूको ज्यान गुमेकोमा दुःख व्यक्त गर्दै, यस्तो अमानवीय हिंसाको कडा शब्दमा निन्दा गर्नुभएको छ। त्यसैगरी, उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, पीडित परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्नुभएको छ।
परराष्ट्रमन्त्री डा. देउवाले नेपाल सरकार भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको बताउँदै, दुःखको यस घडीमा एकअर्काको साथ र सहयोगको महत्त्वलाई रेखांकित गर्नुभएको छ।
उक्त घटनामा एक जना नेपाली नागरिकको ज्यान गएको भन्ने विवरण प्राप्त भएको छ। यस विषयमा थप जानकारी प्राप्त गर्न परराष्ट्र मन्त्रालयले सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको र आवश्यक अपडेट प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।









