आतंकवादी हमलाको कडा निन्दा :प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी हमलाको घोर निन्दा गर्दै नेपाल सरकारको तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले ट्वीटमार्फत्, “दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भर्त्सना गर्दछ” भन्ने कुरा उल्लेख गर्नुभएको छ।
नेपाल सरकारको विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै उक्त हमलामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेको छ। साथै, नेपालले आतंकवादको कुनै पनि रूप र प्रकटीकरणको निन्दा गर्दै यस्तो अमानवीय कार्यलाई कुनै पनि आधारमा न्यायोचित ठान्न नसकिने स्पष्ट पारेको छ।
यस हमलामा कम्तीमा २६ जनाको ज्यान गएको र दर्जनौं घाइते भएका छन्। उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन्









