पछिल्लो ९ महिनामा भन्सारविन्दुबाट ३ खर्ब बढी राजस्व संकलन
काठमाडौँ - चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म नेपालले भन्सारविन्दुबाट ३ खर्ब ४३ अर्ब ११ करोड ६१ लाख ६५ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। यस अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जसबाट उक्त परिमाणको राजस्व संकलन भएको हो। कुल १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु व्यापार भएको छ। यस अवधिमा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
यस अवधिमा भन्सार विभागले अनलाइन अनुगमन र जोखिम व्यवस्थापनका माध्यमबाट राजस्व संकलनमा उल्लेखनीय वृद्धि गरेको दाबी गरेको छ। यसका साथै, विभागले भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कार्वाही गर्न लगाउने गरेको छ।









