राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिंहदरबारभित्रै सांकेतिक प्रदर्शन
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिंहदरबारभित्रै सांकेतिक प्रदर्शन गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरूले सिंहदरबारभित्र विभिन्न नारा अंकित पम्प्लेट प्रदर्शन गर्दै वर्तमान व्यवस्थाविरुद्ध विरोध जनाएका थिए। प्रहरीले ती पम्प्लेटहरू कब्जा गरेको थियो।
यस प्रदर्शनको क्रममा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए। राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो। सोही अनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदरबारमै सांकेतिक प्रदर्शन गरेका हुन्।
नेताहरू अब बानेश्वर पुग्ने बताइएको छ। राप्रपाले तीनकुने घटनाको छानबिन माग, पार्टीका नेताहरूको रिहाइका साथै राजसंस्थाको पक्षमा आइतबार प्रदर्शन आयोजना गरेको हो।









