पत्रकारहरूसँग पुष्पकमल दाहाले के भने?
काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रको अस्तित्व नाममा नभई कार्यान्वयनमा निर्भर रहने बताएका छन्। उनका अनुसार, दलहरूले प्रभावकारी काम गर्न सकेमा मात्र गणतन्त्र संस्थागत र दिगो बन्न सक्छ।
विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले भने, "गणतन्त्र नामको मात्र होइन, कामको आधारमा बच्न सक्छ।" उनले थपे, "यदि दलहरूले राम्रो काम गर्न सके भने गणतन्त्र संस्थागत हुँदै जानेछ।"
यसै क्रममा उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले रोक्दैन भन्ने धारणा राखे। उनका अनुसार, माओवादी केन्द्रको वर्तमान सत्ता गठबन्धनप्रति समर्थन छैन। शनिबार राति बालुवाटारमा भएको छलफल शान्ति प्रक्रियासँग सम्बन्धित थियो र यसले गणतन्त्रका पक्षधर एक भएका सन्देश दिएको उनले बताए।
उनले गणतन्त्रको रक्षा र संस्थागत गर्नका लागि सबै दल र नागरिकको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन्।









