बीवाईडी कम्पनीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
काठमाडौँ । बीवाईडी सिगल (डल्फिन मिनी) ले २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड जितेको छ। यो प्रतिष्ठित पुरस्कार न्यूयोर्क अन्तर्राष्ट्रिय अटो शोमा १६ अप्रिल २०२५ मा आयोजित वर्ल्ड कार अवार्ड्स कार्यक्रममा प्रदान गरिएको हो। यससँगै बीवाईडीले पहिलो पटक चिनियाँ अटोमोटिभ ब्रान्डका रूपमा यो सम्मान प्राप्त गरेको छ।
सिगलको डिजाइन 'ओसन एस्थेटिक्स' दर्शनमा आधारित छ, जसले यसलाई ताजा, आकर्षक र आधुनिक बनाएको छ। उच्च सुरक्षा मापदण्ड, स्मार्ट ड्राइभिङ फिचर र उत्कृष्ट सिटी-फ्रेन्डली परफर्मेन्सका कारण यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ।
यो पुरस्कारले बीवाईडीको नयाँ ऊर्जा सवारीसाधन उद्योगमा अग्रणी स्थानलाई पुनः अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको छ। बीवाईडीका एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला लीले भने, “हामी गर्वका साथ भन्न चाहन्छौं कि सिगललाई वर्ल्ड अर्बन कारको रूपमा सम्मानित गरिनु हाम्रो लागि गर्वको विषय हो। यसले हामीले विश्वव्यापी ग्राहकहरूलाई दिगो प्रविधि र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई पुष्टि गर्छ।”
नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले सिगलको नेपाली सडकमा परीक्षण गरिसकेको छ र छिट्टै यसको आधिकारिक लन्च गर्ने बताइएको छ।









