हेटौँडा सिमेन्ट उद्योगले पुनः सिमेन्ट उत्पादन सुरु
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले छ महिनापछि पुनः सञ्चालन सुरु गरेको छ। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार, सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति र यन्त्रको मर्मतपछि सिमेन्ट उत्पादनका लागि चुनढुङ्गा तयार पार्न प्रक्रिया प्रारम्भ गरिएको हो।
उद्योगले अब दैनिक ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ। तर, विसं २०३३ मा जडान गरिएका यन्त्र पुराना भइसकेका कारण नयाँ यन्त्र खरिद गर्नुपर्ने आवश्यकता महाप्रबन्धक कर्णले औंल्याएका छन्। नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीको पारिश्रमिकको व्यवस्था गर्न कठिनाइ भइरहेको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको उनले बताएका छन्। यस अवस्थामा उद्योगका समस्याहरू समाधान गर्न सरकारले सहयोग गर्ने विश्वास महाप्रबन्धक कर्णले व्यक्त गरेका छन्।









