सगरमाथा क्षेत्रको पर्यटनमा चैत महिनामा उल्लेखनीय वृद्धि
काठमाडौँ । सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि भएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार, गत चैत महिनामा १२,००० भन्दा बढी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्। यो वसन्त ऋतुको सुरुवातसँगै हिमाल आरोहण, ट्रेकिङ र हिमाली दृश्यावलोकनको उपयुक्त समय भएकाले पर्यटकको चहलपहल बढेको हो।
निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार, यो समय हिमाल आरोहण र दृश्यावलोकनका लागि उत्तम हुने भएकाले विदेशी र स्वदेशी पर्यटकहरूको आगमन बढेको छ। यससँगै खुम्बु क्षेत्रमा होटल र लजहरूको व्यस्तता पनि बढेको छ।
हाल, नाम्चे बजारदेखि लुक्लासम्मका होटल पर्यटकले भरिभराउ छन्। अनुकूल मौसम हुँदा काठमाडौँ र मन्थली विमानस्थलबाट दैनिक सयौँ पर्यटक लुक्ला हुँदै निकुञ्ज प्रवेश गरिरहेका छन्। मौसम प्रतिकूल हुँदा, पर्यटकहरूले वैकल्पिक मार्ग रोज्दै काठमाडौँबाट जिप चढेर सल्लेरी हुँदै सुर्केसम्मको यात्रा गरिरहेका छन्।
पहिले सगरमाथा पुग्ने प्रमुख विकल्प लुक्लाको हवाई यात्रा थियो। तर, हालैका वर्षहरूमा लुक्लासम्म सडक विस्तार हुँदै जाँदा, अब गाडी चढेर पनि हिमालको काखमा पुग्न सकिने सम्भावना बढेको छ। मौसम प्रतिकूल हुँदा हवाइजहाज उडान अवरुद्ध हुँदा, पर्यटकहरू जिपमार्फत खुर्कोट, घुर्मी, ओखलढुङ्गा हुँदै सोलुखुम्बु सदरमुकाम सल्लेरी पुग्छन्।
सगरमाथा राष्ट्रिय निकुञ्ज १,१४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ र यहाँ सगरमाथासहित ल्होत्से, नुप्से, चोयु, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुरा पर्दछन्। निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो।
सगरमाथा क्षेत्रमा पर्यटकको आगमनले स्थानीय व्यवसायलाई फाइदा पुर्याइरहेको छ, तर यससँगै पर्यावरणीय समस्याहरू पनि थपिएका छन्। पर्यटन क्षेत्रका जानकार आङछिरिङ शेर्पाका अनुसार, अबको प्राथमिकता भनेको प्राकृतिक स्रोतको संरक्षण र पर्यटनको दिगो विकास गर्नु हो।









