विद्यालय शिक्षा ऐन लगेर मात्रै घर फर्किने
काठमाडौँ । पछिल्लो १५ दिनदेखि आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। उनीहरूले शिक्षा ऐन हातमा लिएपछि मात्र आफ्ना घर फर्किने बताएका छन्।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारलाई दबाब दिनको लागि आन्दोलन जारी राखिने बताएका छन्। उनले भने, “यदि वैशाख १२ गते बोलाइएको संसद् अधिवेशनमा शिक्षा ऐन पारित भयो भने हामी भोलिपल्टै काममा फर्किन्छौं, तर ऐन नआएसम्म आन्दोलन जारी रहनेछ।”
यसअघि मन्त्रिपरिषद् बैठकले संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने भन्दै वैशाख १२ गते संसद्को अधिवेशन बोलाउने निर्णय गरेको थियो।
सरकारले शिक्षक महासङ्घका मागहरूमाथि संवाद जारी राख्ने र यथोचित सम्बोधन गर्ने तयारी गरेको जनाएको भए पनि महासङ्घले ती कुरा पर्याप्त नभएको भन्दै ऐन पारित नभएसम्म कुनै पनि शैक्षिक क्रियाकलाप नगर्ने अडान लिएको छ।
यसै क्रममा एसईई उत्तरपुस्तिका मूल्याङ्कन, विद्यार्थी भर्ना अभियान र आगामी कक्षा १२ को परीक्षा बहिस्कार गर्ने घोषणा गरिएको छ, जसले शिक्षण प्रणाली प्रभावित भएको छ। महासङ्घले आफ्ना मागहरूमा अस्थायी शिक्षकको स्थायिकरण, तलब वृद्धिदेखि प्रधानाध्यापक व्यवस्थासम्मका विषय समेटिएको ऐनको माग गरेको छ।
शिक्षकहरूको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने निर्णय पनि गरिएको छ। आज दिउँसो माइतीघर मण्डलामा प्रदर्शन आह्वान गरिएको छ।









