सुर्तीजन्य पदार्थको बिक्री र वितरणमा रोक लगाउने निर्णय
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको अधिकार र सुरक्षालाई प्राथमिकता दिँदै बजार अनुगमनलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा, विभागले मङ्गलवार थप २ व्यवसायीलाई कारबाही गरेको छ। यस अन्तर्गत करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरणमा रोक लगाइएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेको भन्दै विभागले ललितपुरस्थित पशुपति इन्टरनेशनल बिजनेस प्रा.ली.लाई कारबाही गर्दै ३ दिन भित्र कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। उक्त प्रा.ली.ले बिक्री वितरण गर्ने गुट्खा र खैनीका सामग्रीहरूमा तौलसम्बन्धी कैफियत देखिएकोले देशभरि कारोबारमा रोक लगाउन निर्देशन गरिएको विभागले जनाएको छ।
यसैगरी, पशुपति ट्रेडिङ्ग कन्सर्न काठमाडौँलाई पनि कागजातसहित ३ दिन भित्र विभागमा उपस्थित हुन सूचना दिइएको छ। यसअघि आइतबार गरिएको अनुगमनका क्रममा काठमाडौँ–२२ स्थित आनन्द ट्रेडर्सलाई २ लाख रुपैयाँ जरिवाना गरिएको थियो। उक्त फर्मलाई उद्योगबाट उत्पादित वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहित लेबल लगाएर बिक्री गर्न निर्देशन दिइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा विभागले उपभोक्ताको अधिकारको संरक्षणका लागि निरन्तर अनुगमन र कारबाहीलाई प्रभावकारी बनाइरहेको जनाएको छ। सरकारले बजारमा बिक्री गरिने सबै सामग्रीहरूमा एमआरपी अनिवार्य गरेको छ। एमआरपी बिना सामग्री बेच्नेलाई कारबाही गर्न सुरु गरिएको हो।









