नेपाल सरकारले विदेशी बैंकमा ११ अर्ब ५२ करोड रुपैयाँको सेयर लगानी
काठमाडौँ । नेपाल सरकारले बहुराष्ट्रिय र क्षेत्रीय वित्तीय संस्थाहरूमा ११ अर्ब ५२ करोड रुपैयाँको संस्थागत सेयर लगानी गरेको छ। यस लगानीमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF), एसियाली विकास बैंक (ADB), एसियाली पूर्वाधार लगानी बैंक (AIIB), सार्क विकास कोष (SDF), र अन्तर्राष्ट्रिय पुनर्निर्माण तथा विकास बैंक (IBRD) जस्ता संस्थाहरू समावेश छन् ।
यसअघि, नेपाल सरकारका विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूको नाममा रहेका यी सेयरहरूको स्वामित्व अब अर्थ मन्त्रालयको नाममा एकीकृत गरिएको छ ।
सरकारले सेयर तथा ऋण लगानी नीति २०८१ जारी गरेको छ, जसअन्तर्गत नेपाल सरकारको पूर्ण वा नियन्त्रणात्मक स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरूमा सेयर र ऋण लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।
यस नीतिअनुसार, सरकारले नेपालमा सदस्य रहेको अन्तरसरकारी बहुराष्ट्रिय निकायमा थप सेयर लगानी गर्न सक्नेछ, र नयाँ स्थापना हुने अन्तरसरकारी बहुराष्ट्रिय निकायमा सम्झौताका आधारमा सेयर लगानी गर्ने नीति कार्यान्वयनमा ल्याइँदैछ ।
यस नीति कार्यान्वयनको चरणमा रहेको र कार्यविधि तथा नियमावलीहरू बनेपछि पूर्णरूपमा लागू हुने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव मुकुन्दप्रसाद पोखरेलले बताएका छन् ।









