काठमाडौँबाट रामेछाप जाँदै गरेको बस दाउन्नेमा दुर्घटना
काठमाडौँ । काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस काभ्रेको रोशी गाउँपालिका–९ स्थित दाउन्नेमा दुर्घटनामा परेको छ। प्रदेश नं. ३–०१–००६–१३३९ नम्बरको बस सडकबाट बाँसको झाङमा पल्टिएको हो। बस काठमाडौँबाट रामेछापको बाम्तीभण्डार जाँदै थियो।
दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनालाई मेथिनकोट प्रादेशिक अस्पतालमा पठाइएको छ भने अन्यलाई मंगलटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार बसको ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि बस चिप्लिएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।









