नक्कली प्रहरीको भेषमा धम्की दिने एक युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ
काठमाडौँ । सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै होटल सञ्चालकलाई धम्की दिने २९ वर्षीय अनुक्रम खरेललाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार साँझ करिब पाँच बजे होटलमा एक व्यक्तिले आफू प्रहरी अधिकृत भएको बताई अनुचित व्यवहार गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोली घटनास्थल पुगेको थियो। अनुसन्धानपछि ती व्यक्ति सर्लाहीको हरिवन नगरपालिका–६ का २९ वर्षीय अनुक्रम खरेल भएको खुलेको छ। उनी नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि प्रहरीले शरीर खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट) फेला पारेको हो।
हाल खरेललाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।









