राजावादी आन्दोलनका क्रममा भएको क्षतिमा ५ करोड बराबरका ४३ वटा बीमा दाबी
काठमाडौँ । राजावादी आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको सम्बन्धमा नेपाल बीमा प्राधिकरणमा ४३ वटा मागदाबी दर्ता भएका छन्। यी दाबीहरूको कुल रकम ४ करोड ८७ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। उक्त दाबीमध्ये ३३ वटा मोटर बीमासँग सम्बन्धित छन्, जसमा १ अर्ब २२ करोड रुपैयाँ बराबरको मागदाबी परेको छ। यसमा २ वटा दाबीका लागि ४३ हजार ८२२ रुपैयाँ भुक्तानी भइसकेको पनि उल्लेख गरिएको छ।
सम्पत्ति बीमातर्फ १६ वटा दाबीमा ३ करोड ११ लाख ६६ हजार रुपैयाँको मागदाबी प्राप्त भएकोमा हालसम्म कुनै भुक्तानी नभएको प्राधिकरणले जनाएको छ। इञ्जिनियरिङ्ग बीमातर्फ ३ वटा दाबीमा ३७ लाख रुपैयाँ र विविध बीमातर्फ २ वटा दाबीमा १० लाख १ हजार १३० रुपैयाँ बराबरको मागदाबी परेको छ। विविध बीमामा १,130 रुपैयाँ भुक्तानी भइसकेको छ।
दाबी भुक्तानीका लागि सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीमा २ वटा दाबीमा १ करोड २७ लाख रुपैयाँ मागदाबी परेको छ। त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ८ वटा दाबीमा १ करोड १७ लाख ५० हजार रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ५ वटा दाबीमा ६८ लाख ९१ हजार २ सय १३ रुपैयाँ, नेको इन्स्योरेन्समा ४ वटा दाबीमा ५२ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्समा १ वटा दाबीमा ४७ लाख ५० हजार रुपैयाँ र नेशनल इन्स्योरेन्समा ११ वटा दाबीमा २० लाख ७५ हजार रुपैयाँको मागदाबी परेको छ।
शिखर इन्स्योरेन्सले ५ मध्ये ३ वटा दाबीमा ४५ हजार १२ रुपैयाँ भुक्तानी दिइसकेको जनाएको छ। अन्य कम्पनीहरूले भने अहिलेसम्म कुनै भुक्तानी दिएका छैनन्। बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई शीघ्र दाबी भुक्तानी गर्न निर्देशन दिएको भएता पनि यो प्रारम्भिक रिपोर्ट मात्र भएको र आगामी दिनमा थप मागदाबी प्राप्त हुनसक्ने प्राधिकरणले जनाएको छ।









