गण्डकी प्रदेशका अस्पतालहरूको स्तरोन्नति कार्य जारी
काठमाडौं । गण्डकी प्रदेश सरकारले मातहतका सबै अस्पतालहरूको सेवा विस्तार र स्तरोन्नति गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकका अनुसार, मन्त्रिस्तरीय निर्णयपछि आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णय पठाइएको छ। यस निर्णयले नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राख्दछ।
मन्त्री पाठकका अनुसार, प्रदेश अस्पताल मुस्ताङ र मनाङको श्यया क्षमता १५ बाट बढाएर २५ गर्ने योजना छ। त्यस्तै, पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० श्ययामा स्तरोन्नति गरिनेछ। कास्कीस्थित मातृशिशु मितेरी अस्पतालको श्यया क्षमता २५ बाट ५० मा पुर्याउने योजना पनि रहेको छ।
बागलुङको धौलागिरि प्रादेशिक अस्पताललाई ५० बाट १०० श्ययामा र नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई 15 बाट 100 श्ययामा स्तरोन्नति गरिनेछ। आगामी आर्थिक वर्षदेखि यी अस्पतालहरूमा प्राविधिक शिक्षा प्रदान गर्ने पूर्वाधार तयारी पनि भइरहेको छ। 100 श्यया क्षमताको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने व्यवस्था भएकाले स्तरोन्नति आवश्यक रहेको मन्त्री पाठकले बताए।
प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै 50 श्ययामा सञ्चालित छन्। गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङ अस्पताललाई पनि प्रदेश सरकारले मातहत लिई 50 श्ययामा स्तरोन्नति गरी सञ्चालन गरिरहेको छ। स्थानीय तहले यी अस्पतालहरूलाई प्रदेश सरकारअन्तर्गत ल्याउन आग्रह गरेपछि सञ्चालनमा ल्याइएको हो।
यस वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पताललाई 25 श्ययाको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरोन्नति गरिएको छ। स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने मन्त्री पाठकको भनाइ छ। अस्पतालहरूको स्तरोन्नति गर्दा श्यया संख्या 395 बाट बढेर करिब 700 पुग्ने अनुमान छ।
अस्पतालहरूको स्तरोन्नति र सेवा विस्तारपछि वार्षिक आम्दानी तीन गुणा बढ्ने अपेक्षा गरिएको छ। हाल अस्पतालहरूमा 564 जनाको स्थायी दरबन्दी रहेकोमा 187 को पदपूर्ति हुन बाँकी छ। अस्थायी र करार जनशक्तिसहित करिब 1,133 जना अस्पतालमा कार्यरत छन्। स्तरोन्नति पश्चात् 1,244 दरबन्दी व्यवस्थापन गर्नुपर्नेछ।
मन्त्री पाठकले जनशक्ति र आन्तरिक खर्च व्यवस्थापन गरेर अस्पताललाई आत्मनिर्भर बनाउनुपर्ने र संघीय सरकारको मात्र भर नपर्नुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य क्षेत्र थप व्यवस्थित बनाउन जनस्वास्थ्य सेवासम्बन्धी विधेयक प्रदेशसभामा अगाडि बढाइएको पनि उनले जानकारी दिए।









