बेनीमा चक्रपथको स्तरोन्नति कार्य सुरु
काठमाडौं । बेनी बजारको चक्रपथ स्तरोन्नति योजना हालै सुरु भएको छ। यस योजनाले बेनी नगरपालिका–८ कालीपुलदेखि वडा नम्बर ७ स्थित दरवाङ बसपार्कसम्मको कालीगण्डकी र म्याग्दी नदी किनारको ९०० मिटर सडकलाई स्तरोन्नति गर्ने उद्देश्य राख्दछ। सडकको कुनातर्फ टेवा पर्खाल, नाली, डिलमा रेलिङ निर्माण गरी पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिनेछ। यसका लागि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङसँग रु तीन करोड १९ लाखमा ठेक्का सम्झौता भएको विकेश–दुप्चेश्वर–सुभम जेभीले पहिलो चरणमा नाली निर्माणको काम थालेको छ।
बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउनका लागि निर्माण गरिएको पक्की पर्खाल पछाडिको माटो फिलिङ गरेर बनाइएको सडकलाई स्तरोन्नति गर्न लागिएको हो। नेपाल सरकारले अगाडि बढाएको १० वटा नमूना नगरपालिका कार्यक्रमअन्तर्गत नगरपालिकाले बेनी चक्रपथ स्तरोन्नति योजना प्रस्ताव गरेअनुसार बजेट विनियोजन गरेर योजना अघि बढाएको नगरप्रमुख सुरत केसीले बताए। चक्रपथ स्तरोन्नति भएपछि ठूला सवारीसाधनलाई चक्रपथबाट आवतजावत गर्न सहज हुने र हाल चक्रपथबाट उडेको धुलो बजारमा आएर प्रदूषण हुने समस्यासमेत समाधान हुने नगरप्रमुख केसीले आशा व्यक्त गरे।
निर्माण सम्पन्न भएपछि सडक छेउछाउमा फूल रोप्ने र विद्युतीकरण गरेर सौन्दर्यकरण गर्ने योजना रहेको बेनी–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। तीन वर्षे योजनाअन्तर्गत आर्थिक वर्ष २०८२/८३ का लागि दरवाङ बसपार्क ढलान र २०८३/८४ मा उक्त बसपार्कमा टर्मिनल भवन निर्माण गर्न सहरी विकास मन्त्रालयलाई प्रस्ताव गरिएको छ। निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले प्रयाप्त मजदुर र उपकरण परिचालन गरेर निर्धारित समयभित्रनै योजना सम्पन्न गरिने जानकारी दिए।









