आगामी वर्षको लागि दुई लाख बिरुवा उत्पादन गर्ने लक्ष्य ;डिभिजन वन कार्यालय
काठमाडौं । डिभिजन वन कार्यालयले यस आर्थिक वर्षमा एक लाख ९३ हजार ४१० बिरुवा उत्पादन गरेको छ। यी बिरुवा कार्यालयको नर्सरीमा तयार पारिएका हुन्।
सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार, यी बिरुवामा जडीबुटी, डाले घाँस, फलफूल र बहुउपयोगी प्रजातिका साथै बहुवर्षीय बिरुवा समावेश छन्। उत्पादनमा जिल्ला वन पैदावार आपूर्ति समिति र डिभिजन वन कार्यालयको संयुक्त प्रयास रहेको उनले बताए। आपूर्ति समितिबाट एक लाख २० हजार, डिभिजन वन कार्यालयका तर्फबाट ७३ हजार ४१० बिरुवा उत्पादन गरिएको उनले बताए ।
उनका अनुसार डिभिजन वन कार्यालयमार्फत ३० हजार बिरुवा जडीबुटीका, १५ हजार बिरुवा डालेघाँस, फलफूल तथा बहुउपयोगी र २८ हजार ४१० बिरुवा बहुवर्षीय उत्पादन गरी हुर्काइएको छ । आपूर्ति समितिबाट उत्पादित बिरुवाका जात छुट्याउने काम भइरहेको छ ।









