पुल निर्माण सम्झौतापछि लामो समयसम्म काम सुरु नगर्ने समस्या , स्थानीयलाई सास्ती
काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ वडाको सिमानामा बग्ने दाङखोला माथि १८ मिटर लामो पुल निर्माण गर्न सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन। धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार, पुलको निर्माण २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने भए पनि हालसम्म सुरु नभएको बताए।
यसअघि २०७५ सालमा धवलागिरि गाउँपालिकाले दाङखोलामा अस्थायी पुल निर्माण गरेको थियो, जुन जीर्ण अवस्थामा पुगेको छ। नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवागमनमा समस्या भइरहेको छ।
पुल निर्माण प्रभावित हुनुका कारणमा म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल पुल निर्माणस्थलमा पर्दा सम्झौतापछि कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायीले काम गर्न नपाउनु, २०७७ सालको बाढीले निर्माणस्थलमा क्षति पुगेपछि पुलको दूरी बढाउनुपर्ने अवस्था आउनु र परिवर्तित परिस्थितिअनुसार बढेको लागत उपलब्ध गराउन सम्बन्धित निकायसँग समझदारी नहुँदा निर्माण व्यवसायी न्यायिक निरुपणका निम्ति अदालत गएको उल्लेख गरिएको छ। यस कारण पुल निर्माण कार्य प्रभावित भएको हो।
निर्माणको काम सुरु नभएपछि कार्यालयले ठेकेदारलाई पेश्कीस्वरूप प्रदान गरेको रु ३३ लाख धरौटीबाट फिर्ता लिएको छ।









