४० नृत्यकर्मीहरूले एक हप्तासम्म नृत्यकला प्रशिक्षण
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको एकसाताको नृत्य कला प्रशिक्षण मंगलबार सम्पन्न भएको छ। यस कार्यक्रममा ४० जना नृत्यकारहरूले नृत्यका सैद्धान्तिक र प्रयोगात्मक पक्षमा प्रशिक्षण प्राप्त गरेका छन्।
प्रतिष्ठानको सभाकक्षमा आयोजित यस प्रशिक्षणमा सहभागीहरूलाई दैनिक ६ घण्टाको तालिम दिइएको थियो। प्रशिक्षणको समापन अवसरमा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव प्रगति महरा, परिषद् सदस्य एवम् नृत्य विभाग प्रमुख सुवर्ण हमाल र नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरे।
सप्ताहव्यापी नृत्यक्षर प्रशिक्षण कार्यक्रममा उनीहरूलाई नृत्य निर्देशक कृष्ण प्रसाद पौडेल र अनमी बोहराले प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरूलाई यस पटक नृत्य क्षण अर्थात् नृत्यको सैद्धान्तिक ज्ञान, भाव, मुद्रासँगै प्रयोगात्मक रूपमा नृत्य प्रशिक्षण दिएको पौडेलले बताए ।









