सात जिल्लामा आगलागीका कारण लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट
काठमाडौँ । नेपालका विभिन्न जिल्लामा भएका आगलागीका घटनामा लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार:
-
रौतहट, गरूडा नगरपालिका-५ स्थित ठाकुर ग्रिल उद्योगमा विद्युत् सर्ट भई सोमबार राति आगलागी हुँदा टायर, वेल्डिङ्ग मेसिन, मोबाइल लगायतका सामान जलेर करिब १० लाख ४३ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
-
महोत्तरी, बर्दिबास नगरपालिका-२ सरकारी अस्पताल नजिकै सरोज अधिकारीको नर्सरीमा सोमबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको टाटा प्रोजेक्ट लिमिटेडको स्टोरमा राखिएका विद्युतीय ट्रान्सफर्मरका ५ वटा मेशिन जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
-
अर्घाखाँची, भूमिकास्थान नगरपालिका-७ पानडाँडा सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँका केही व्यक्तिहरूका घर र गोठमा समेत आगलागी भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हालसम्म खुलाइएको छैन।
-
कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ ठुलोसिसनियास्थित महिबुदीन मुसलमानको करिब ७ बिगाहा गहुँखेतीमा सोमबार दिउँसो आगलागी हुँदा करिब ८ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
-
नुवाकोट, तारकेश्वर गाउँपालिका-४ नेवारपानी डोरपाखास्थित सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँकी सलिना श्रेष्ठको गोठमा समेत आगलागी हुँदा करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
-
मोरङ, कानेपोखरी गाउँपालिका-६ शिवालय टोलका प्रेम कुमार मगरको ग्वालीमा विद्युत् सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
-
मोरङ, बिराटनगर महानगरपालिका-१ फुटलब चोकस्थित पप्पु पंडितको न्यू एसके फर्निचर उद्योगमा गए राति आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
-
पर्सा, बिन्दबासिनी गाउँपालिका-२ बहुअर्वास्थित वीरगंज महानगरपालिका-१९ केहुनिया बस्ने बरियारको पान घुम्ती पसलमा गए राति आगलागी हुँदा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।









