पार्टी एकताको प्रयास जारी राख्ने ; नेकपा
काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता र मोर्चावन्दीको प्रयासलाई जारी राख्ने निर्णय गरेको छ। पार्टीको मंगलबार सम्पन्न पोलिटब्युरो बैठकले समाजवादी मोर्चालाई सुदृढ बनाउन र विभिन्न क्रान्तिकारी कम्युनिष्ट शक्तिहरूसँग सहकार्य गर्दै संयुक्त संघर्षलाई अघि बढाउने निर्णय गरेको प्रचार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए।
बैठकमा महासचिव विप्लवले 'साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्ध दृढतापूर्वक मोर्चा खडा गरौँ! समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौँ!!' शीर्षकको १७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए। यसमा, नेपालका सबै पार्टीहरू असफल भएको निष्कर्ष निकाल्दै, उनले एकीकृत जनक्रान्तिमार्फत समाजवादी क्रान्तिको नेतृत्व लिन तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।
नेकपा माओवादी केन्द्रसँग एकता गर्ने प्रयासमा प्रचण्डको उपेक्षा भएको भन्दै, विप्लवले तीव्र असन्तुष्टि जनाएका छन्। उनले माओवादी केन्द्रको निर्णय हेरेर अघि बढ्ने भए पनि एकताको ढोका खुला राखेको बताएका छन्।
बैठकले आगामी फागुन १ गते जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म शहीद सप्ताहलाई संयुक्त रूपमा मनाउने निर्णय पनि गरेको छ। यस प्रक्रियालाई अघि बढाउन छिट्टै आवश्यक पहल गर्ने निर्णय गरिएको शर्माले बताए।









