नेपाल पत्रकार महासंघले हालै पत्रकार सुरेश रजकको हत्याको विरोधमा थप आन्दोलनका कार्यक्रम तय
काठमाडौं । शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश र मकवानपुरका पत्रकारहरूले प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका छन्।
ध्यानाकर्षण पत्रमा पत्रकार महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईँले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। त्यस्तै, मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले राजनीतिक आडमा सञ्चारमाध्यममाथि भएको आक्रमण निन्दनीय भएको भन्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका छन्।
मुख्यमन्त्री लामा र प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकार र सञ्चारगृहका सुरक्षाका लागि आफूहरू सदैव तत्पर रहेको र घटनामा उचित कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।









