बर्डफ्लू र अफ्रिकन स्वाइन फिभर रोगहरूको संक्रमणबाट जोगिन सबैलाई सतर्कता अपनाउन आग्रह
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले हालको समयमा पन्छीहरूमा बर्डफ्लू र सुँगुर तथा बङ्गुरहरूमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेको भन्दै कुखुरा र सुँगुर तथा बंगुर पालन गर्ने किसानहरूलाई फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरेको छ।
सतर्कता अपनाउनका लागि कुखुरामा बर्डफ्लूको संक्रमण रोक्न जैविक सुरक्षा उपायहरू अपनाउन सल्लाह दिइएको छ। यसका लागि बजारबाट ल्याइएका अन्य पन्छीसँग मिलाएर राख्नु हुँदैन र करिब १४ दिनसम्म बथानबाट टाढा राख्नुपर्ने सुझाव दिइएको छ। कुखुराको फार्मको बाहिरी क्षेत्रमा ५० प्रतिशत र भित्र १०० प्रतिशत भाइरसको संक्रमणको जोखिम रहेको हुँदा खोरमा स्प्रे गर्दा विशेष ध्यान दिनुपर्नेछ। साथै, खोरमा आउजाउ गर्दा छुट्टै जुत्ता प्रयोग गर्न पनि सिफारिस गरिएको छ।
अफ्रिकन स्वाइन फिभरबाट जोगाउन सुँगुर र बङ्गुरको फार्म र खोरमा नियमित सरसफाइ गर्न र चुना, ब्लिच पाउडर वा फर्मालिन जस्ता नि-संक्रमण औषधिहरूको प्रयोग गर्नुपर्ने सल्लाह दिइएको छ। रोगको शंका लागेमा पशुहरूलाई अलग्गै राख्नु, मरेका सुँगुरलाई खाडलमा गाड्नु वा जलाउनु, र जंगली बँदेलसँग सम्पर्क गर्न नदिनु अत्यन्तै महत्त्वपूर्ण भएको जनाइएको छ।









