तीनकुने घटनाबारे सूचना उपलब्ध गराउन अनुरोध; नेपाल प्रहरी
काठमाडौँ । नेपाल प्रहरीले तीनकुने घटनासम्बन्धी तथ्यगत सूचना संकलन गर्न सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरेको छ। आइतबार जारी गरेको सार्वजनिक सूचनामा, प्रहरी प्रधान कार्यालयले तोडफोड, आगजनी, लुटपाट र अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूसँग सम्बन्धित प्रमाणहरू संकलन गर्नका लागि फोटो, भिडियो र व्यक्तिहरूका विवरण उपलब्ध गराउन आग्रह गरेको छ। यस्ता सूचनाहरू दिने व्यक्तिहरुको गोपनीयता सुनिश्चित गरिने पनि प्रहरीले जनाएको छ। यसअघि, शुक्रबार तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको र अराजक भीडले तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको थियो। उक्त घटनामा १०० भन्दा बढी व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।









