निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र शाक्य दुवैको रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र शाक्य दुवैको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न अग्राधिकार प्रदान गर्दै आइतबार मिति तोकेको छ। यसअघि, कुलमान घिसिङले आफूलाई अवैधानिक रूपमा हटाइएको भन्दै पुनर्बहालीको आदेश माग गर्दै रिट दायर गरेका थिए। त्यस्तै, हितेन्द्र शाक्यले आफ्नो सेवासम्बन्धी सम्झौताअनुसार कार्यकाल बाँकी रहेको अवस्थामा ऊर्जा विशेषज्ञ सदस्यको पदमा नियुक्ति गरिएको भन्दै प्राधिकरणको कार्यकारी निर्देशक पदमा यथावत् कार्य गर्न दिनु पर्ने माग गर्दै रिट दायर गरेका थिए।









