केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख सचेतकहरूको बैठकमा दिएका छन्।
शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलन र समसामयिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ सर्वदलीय बैठक बोलाएको जानकारी बर्तौलाले दिएका छन्। प्रमुख सचेतक बर्तौलाले सभामुख घिमिरेको सचिवालयको जानकारी अनुसार प्रधानमन्त्री ओलीले भोलिको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका माग सम्बोधन गर्ने बताएका छन्। बैठकमा सत्तापक्षले विपक्षी दललाई सदन अवरोध खोल्न अनुरोध गरेपनि विपक्षी दलहरूको अडान यथावत रहेको कुरा जानकारी दिइएको छ।









