आज विश्वभर अन्तर्राष्ट्रिय शून्य फोहर दिवस विभिन्न कार्यक्रमहरूको आयोजना
काठमाडौँ ।आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। मानवका अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेको भन्दै फोहर उत्पादन र व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिइँदैछ।
प्लाष्टिक प्रदूषण र अन्य फोहरका कारण उत्पन्न हुने समस्यालाई सम्बोधन गर्न विश्वका हरेक व्यक्तिले आफ्ना स्थानबाट योगदान गर्नुपर्ने आवश्यकता औँल्याइँदैछ। यस वर्ष कपडा उत्पादन र परिधान उद्योगमा शून्य फोहर नारासहित यो दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घका अनुसार, एक वर्षमा विश्वभरका नगर क्षेत्रमा उत्पादन हुने ठोस फोहरले विश्वलाई २५ पटक ढाक्न पुग्छ। फोहरको यो भयावह उत्पादन घटाउन राष्ट्रसङ्घीय वातावरण कार्यक्रम र मानव बसोबास कार्यक्रमले सदस्य देशलाई सहयोग गर्दैछन्। सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न विश्वलाई फोहरमुक्त बनाउन आवश्यक रहेको राष्ट्रसङ्घको भनाइ छ।









