सिटिटेकको गेटपे प्लेटफर्म अब माछापुच्छ्रे बैंकसँग एकीकृत
काठमाडौँ ।सिटिटेक ग्रुपले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली र व्यवसायी व्यवस्थापन सफ्टवेयर 'गेटपे' माछापुच्छ्रे बैंक लिमिटेडसँगको सहकार्यमा सफलतापूर्वक सुरु गरेको छ। यसअघि, संस्थाले फिन-प्रो र फिन-पस जस्ता नवीनतम सफ्टवेयरहरू ल्याइसकेको थियो। 'गेटपे' प्लेटफर्मले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणालीमार्फत भुक्तानी संरचना सरल बनाउन, व्यवसायी व्यवस्थापन गर्न र नयाँ भुक्तानी माध्यमहरूलाई छिटो एकीकृत गरी राफसाफ गर्न सक्षम बनाउँछ। यसको माध्यमबाट एकैपटक धेरै भुक्तानी माध्यममा पहुँच स्थापना हुने हुँदा जटिल भुक्तानी प्रणाली सहज हुने बताइएको छ। माछापुच्छ्रे बैंकले 'गेटपे'लाई आफ्नो दैनिक सञ्चालनमा समावेश गरिसकेको छ। बैंकको डिजिटल बैंकिङ टोलीका अनुसार, 'गेटपे'को माध्यमबाट व्यवसायीसँग सम्बन्धित सम्पूर्ण कारोबार र भुक्तानीहरू एकै ठाउँबाट हेर्न सक्ने सुविधा प्राप्त भएको छ, जसले बैंकको कार्यकुशलता अभिवृद्धि गर्नुका साथै ग्राहकलाई प्रदान गरिने सेवा अझ सरल र सबल बनाएको छ। सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्माका अनुसार, यस पहलले नेपाली बैंकहरूलाई एकीकृत भुक्तानी प्रणालीलाई सशक्त बनाउने नवीनतम प्रविधि प्रदान गर्ने दिशामा ऐतिहासिक नयाँ पाइला चालिएको छ, र भविष्यमा नेपालका बैंक तथा वित्तीय संस्थाहरूको भुक्तानी व्यवस्थापन र सञ्चालनमा संस्थाको तर्फबाट उल्लेख्य योगदान हुनेछ।









