प्रदर्शनलाई शान्तिपूर्ण बनाउन, राजावादी र समाजवादी मोर्चाका नेताहरूलाई आग्रह
काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले आजका लागि तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन समाजवादी मोर्चा र राजावादी समूहका नेताहरूलाई आग्रह गरेको छ। आयोगले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा दुवै पक्ष आमनेसामने हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा चुनौती थप्न सक्ने भन्दै चासो व्यक्त गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरिएको उल्लेख छ। छलफलका क्रममा सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षाको अवस्थालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षा निकाय बीच समन्वय गर्दै प्रदर्शनकारीका प्रतिनिधिसँग पनि छलफल गरी सुरक्षा योजना तयार पारेको बताएका छन्।









