किसान आयोगले किसानका समस्याहरूको समाधानमा अपेक्षित
काठमाडौँ । चितवनमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा, कृषकहरूले कृषि क्षेत्रमा ऋणको पहुँच, अनुदान वितरणमा पहुँचको आधारमा भेदभाव, र उत्पादित वस्तुको उचित मूल्य नपाउने समस्याहरू उठाएका छन्। नेपाल किसान महासंघ बागमती प्रदेश उपाध्यक्ष प्रतिभा पाण्डेले उत्पादनको उचित मूल्य सुनिश्चित गर्न आयोगको सक्रियता आवश्यक रहेको बताइन्। त्यस्तै, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमिल्सिनाले आयोगले किसानका समस्यामा पर्याप्त ध्यान नदिएको गुनासो गरे। किसान जनकराज पन्तले सूचीकरण प्रक्रिया स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनेतर्फ आयोगले ध्यान दिनुपर्ने बताएका छन्। कृषि मन्त्रालयका उपसचिव चेतबहादुर रोकाले हालसम्म २० लाख ७१ हजार १०६ कृषकले सूचीकरणका लागि आवेदन दिएका जानकारी दिए। राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेमप्रसाद दङ्गालले किसानका समस्याको समाधानका लागि सरकारलाई सुझाव दिइरहेको बताए।









