स्वयम्भूबाट ठूलो परिमाणमा अवैध सुनका गहनासहित एक जनालाई पक्राउ गरिएको छ
काठमाडौँ ।काठमाडौँको स्वयम्भूबाट ठूलो परिमाणमा अवैध सुनका गहनासहित एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–५ का ४५ वर्षीय दिपेशलाल चित्रकार छन्। प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटीबाट पक्राउ गरेको हो। उनको साथबाट नौगेडी ११ थान, सिङ्गल गेडी माला ७ थान, क्रिस्टल सहितको सुनको माला १३ थान, मङ्गलसूत्र ६ थान, सोली गेडी १ थान, टप ३ थान, क्लिप ९ थान लगायतका १४ प्रकारका गहना बरामद गरिएको छ। आरोपीले अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनले प्रहरीलाई बताएका छन्, 'बङ्गालीहरूले ल्याएर दिएको सुनको गहना बनाएर बेच्न हिँडेको हुँ।' मङ्गलवार पक्राउ परेका उनलाई राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइएको छ।









