सम्पदा पदमार्गको रूपमा विकास हुँदै नक्साल
काठमाडौं । केही वर्षदेखि अस्तव्यस्त रहेको काठमाडौँ उपत्यकाभित्रको ऐतिहासिक नगरी नक्सालको नागपोखरीदेखि भगवतीबहालसम्मको सडक निर्माण अन्तिम चरणमा पुगेको छ। कालोपत्रे सडक भत्काएर हाल ढुङ्गा छापिएको यो सडक ठेक्का सम्झौतापछि दुई वर्षपछि निर्माणको अन्तिम चरणमा पुगेको हो।
सडक निर्माणका क्रममा विभिन्न विवाद पनि उठेका थिए। काठमाडौँ उपत्यका विकास प्राधिकरण मातहतको काठमाडौँ जिल्ला आयुक्तको कार्यालयले सडक भत्काएर त्यसमा ढुङ्गा छाप्ने प्रक्रिया अघि बढाएकोमा कतिपय स्थानीयले यस ठाउँमा ढुङ्गा बिछ्याउन नहुने र कालोपत्रे गर्नुपर्ने माग गरेका थिए।
विशेष गरी ठूला गाडी र मालवाहक ट्रकको प्रवेश नहुने भएपछि सो क्षेत्रमा व्यापार–व्यवसाय गर्दै आएका स्थानीयले कालोपत्रे गर्नुपर्ने माग राखेका थिए। लिच्छविकालीन नगरीको रूपमा प्रसिद्ध नक्सालमा राजा मानदेवको पालाको शंकरकीर्ति बिहार, तीन सय वर्ष पुरानो नन्दीकेशर मन्दिर र सात सय वर्ष पुराना घरहरू रहेका छन्।
यसै कारण सम्पदा संरक्षण अभियन्ता र सम्पदा प्रेमीहरूको पहलमा भगवती बहालदेखि नारायण चौरसम्मको ४१० मिटर र कमलपोखरीबाट सिंह दोबाटो जाने ४२२ मिटर लामो सडकमा ढुङ्गा बिछ्याउने काम अघि बढाइएको हो।
प्राधिकरणले चार करोड ५१ लाख ६५ हजार ७०६ रुपैयाँ लागतमा निर्माण गरिरहेको यो सडकलाई 'हेरिटेज वाक वे' अर्थात् सम्पदा पदमार्गका रूपमा निर्माण गरिँदै छ।









