image
image

‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान

बलेवा २२ चैत: “सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबलि लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै ! रगतको खोलो बग्ने कोटमा म त एकछिन बिताउन सकिनँ, भागेर घर आएँ”, बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका डिलप्रसाद कँडेलले बालापन सम्झँदै भन्नुभयोे, “कोटमा हुने पू्जामा गाउँभरिकाले बलि चढाउँथे, कोटघरको वरपर रक्ताम्मे हुन्थ्यो ।”

कँडेललाई जानकारी भएअनुसार बिहुँकोटमा बलि चढ्न थालेको २०० वर्ष भयो । बिहुँकोटे राजाले दुई श्रीमती बिहे गरेको र दुई घरबार भएकाले बिहुँमा दुईवटा कोट छन् । तल्लो र उपल्लो कोटले चिनिने दुवै कोटमा बलि चढ्छ । अन्य शिवालय र मन्दिरमा भने बलि चढ्दैन । “पहिला यस्तो थिएन रे, पछि बलि प्रथाको शुरुआत भयो, दुवै कोटमा बलि चढाउनैपर्ने नियम बनाएका भन्ने सुनेका छौँ”, बिहुँका पुराना शिक्षक शिवलाल कँडेलले भने, “अहिलेसम्म पनि मङ्गलबार र बिहीबार बलि चढाउन आउनेहरू धेरै हुन्छन् ।”

शिवलाल र डिलप्रसादले कोटमा देखेको रगतको खोलो अबको पुस्ताले देख्नुपर्ने छैन । न त रगतको पोखरी देखेर कोटमा पुग्नेहरू बेहोस नै हुनुपरोस् । पशुबलि दिएर मानिसको महत्वकाङ्क्षा पूरा हुने अन्धविश्वास तोड्न अहिले बिहुँमा ‘बलिप्रथा’ अन्त्यको प्रयास थालिएको छ । बिहुँमा रहेका दुवै कोटमा चैतको १ गतेदेखि पशुबलि नचढाउन वडा कार्यालयले निषेध गरेको छ । स्थानीयवासीलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएर वडा कार्यालयले पशुबलि नचढाउन आग्रह गरेको छ ।

“पशुबलि चढाएर कसैले मागेको पुग्दैन, यो अमानवीय व्यवहारको अन्त्य गर्ने प्रयास थालेका छौँ” वडाध्यक्ष युक्तप्रसाद कँडेलले भन्नुभयो, “सार्वजनिक सूचना गरेर जानकारी गराइएको छ, अब कसैले नियम तोडे कारवाही हुन्छ ।” स्थानीय बुद्धिजीवी, समाजसेवी र ५ नं वडा कार्यालयसँगको परामर्शका आधारमा ‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान थालिएको कँडेलले बताए ।

“मासु खाने वा नखाने व्यक्तिगत रुचि र चाहनाको कुरा हो तर धर्मका नाममा निर्दोष पशुको बलि चढाएर रगतको खोला बगाउनु राम्रो होइन”, उनले भने, “हामीले दिएको बलिले भगवान् खुशी हुँदैनन्, यो त हिंसा पो हो त ।” चाडपर्वका समयमा कोटघरमा दिइने बलिले हिन्दू सभ्यतालाई नै गिज्याइरहेको कँडेलले बताए ।

“सञ्चारमाध्यामबाट पनि सूचना गर्दैछौँ”, चेतनाको अभावमा भइरहेको कमजोरी सबैले सच्याउनुहुन्छ भन्ने लागेको छ”, कँडेलले भने, “हामी पशुबलि मुक्त वडाको नागरिक भएर बाच्ने छौँ ।” धार्मिक सम्पदाको संरक्षण र सभ्य समाजको निर्माणका लागि यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।

वडाले गरेको निर्णयमा स्थानीय खुशी छन् । “धर्म नै छोड भनेको होइन, कमीकमजोरी सच्याउभन्दा किन चित्त दुखाउनु” पूर्वशिक्षक शिवलालले भने , “यसले हाम्रो धर्म संरक्षणमा थप सहयोग गर्छ ।” धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसारका लागि लगानी गरिरहेको वडाले धर्मको नाममा हुने गतिविधिमा सुधार ल्याउने प्रयास थालेको वडाध्यक्ष कँडेल बताउँछन् ।-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।